घर तथा पूर्वाधार निर्माणमा प्रयोग हुने इँटाको परीक्षण

सिलिका र एलुमिना जस्ता मुख्य रासायनिक तत्वहरू, केही प्रतिशत आइरन अक्साइड र चुन मिसाएर इँटा बनाइन्छ । सामान्य भाषामा भन्नु पर्दा माटो र पानीको मिश्रणलाई चारकुने आकार दिएर हावामा सुकाएर भट्टीमा पोलेपछि इँटा बन्छ ।इँटाको एकापट्टि सम्म हुन्छ भने अर्काे सतहमा गाडिएको बुट्टा बनाइएको हुन्छ । गाडिएको बुट्टाले गारो लगाउँदा एक किसिमको चुकुलको काम गरेर जोडलाई मजबुत बनाउँछ ।

किन गर्ने ?

घर वा भवनका भित्ता बनाउन प्रयोग हुने इँटा पनि गुणस्तरीय हुनुपर्छ । इँटाको गुणस्तर पत्ता लगाउन सामान्य विधि अपनाउँदै फिल्डमा पनि परीक्षण गर्न सकिन्छ । दुईवटा इँटालाई हातमा लिएर एक आपसमा ठोक्दा ‘मेटालिक रिङ्गिङ्’ वा धातुको घण्टी जस्तो आवाज आउनुपर्छ । यस्तो आवाज आएको इँटालाई फस्ट क्लासको मानिन्छ ।

फिल्डमा भौतिक रूपमा परीक्षण गर्दा पनि इँटाको गुणस्तरमा पूर्ण विश्वस्त हुन सकिँदैन । तर, प्रयोगशालामा परीक्षण गर्दा गुणस्तरको तथ्यांक नै आउने हुँदा इँटाको पनि ल्याब टेस्ट गर्नुपर्छ ।

कसरी गर्ने  ?

ल्याबमा टेस्ट गर्दा इँटाको ‘कम्प्रेसिभ स्ट्रेन्थ’ परीक्षण गरिन्छ । कम्प्रेसिभ स्ट्रेन्थ परीक्षण गर्दा इँटाको न्यूनतम कम्प्रेसिभ स्ट्रेन्थ १०.५ न्युटन प्रतिवर्ग मिलिमिटर आउनुपर्छ । इँटाको न्यूनतम कम्प्रेसिभ स्ट्रेन्थ १०.५ न्युटन प्रतिवर्ग मिलिमिटर आए उक्त इँटा ‘फस्ट क्लास’ को, न्यूनतम ७ न्युटन प्रतिवर्ग मिलिमिटर आए सो इँटा ‘सेकेन्ड क्लास’को र न्यूनतम ३ न्युटन प्रतिवर्ग मिलिमिटर आए सो इँटा ‘थर्ड क्लास’को मानिन्छ ।

ल्याबमा परीक्षण गर्दा इँटा बढी पानी सोस्ने खालको छ कि कम भनेर पनि परीक्षण गरिन्छ । कम पानी सोस्ने खालको इँटालाई बलियो इँटा मानिन्छ । परीक्षण गर्दा फस्ट क्लासकोे इँटाले अधिकतम १५ प्रतिशत, सेकेन्ड क्लासको इँटाले अधिकतम २० प्रतिशत र थर्ड क्लासको इँटाले अधिकतम २५ प्रतिशत पानी सोस्नुपर्छ । यी तीन क्लासका इँटाले सोभन्दा बढी पानी सोस्ने हो भने परीक्षण असफल हुन्छ र सो इँटा प्रयोग गर्न सकिँदैन ।

इँटामा सकेसम्म ढुसी लाग्नु हुँदैन । कुनै प्रकारको इँटामा पानीले गल्ने प्रकारको तत्व विद्यमान हुन्छन् । त्यो तत्वलाई ‘सोलुबल साल्ट’ भनिन्छ । जब यस्तो प्रकारको इँटामा पानी हालिन्छ तब पानीले सोलुबल साल्टलाई गलाइदिन्छ र इँटाको सतहमा ल्याइदिन्छ । इँटाको सतहमा आएपछि सो पदार्थले इँटालाई टाटेपाटे बनाइदिन्छ । प्रयोेग गर्न लागिएको इँटामा ढुसी लाग्छ वा लाग्दैन भनेर प्रयोगशालामा परीक्षण गर्न सकिन्छ ।

इँटा चारकुने आकारको, समथर सतह भएको, नाप परिमाण तथा घटिबढि सीमाभित्र परेको हुनुपर्छ । यसका लागि इँटाको लम्बाइ, चौडाइ र उचाइको नाप लिएर प्रयोगशालामा परीक्षण गरिन्छ ।

यो लेख यसमा पनि प्रकाशित भएको छ ।

Comments

Post A Comment