कसरी हुन्छ पूर्वाधार निर्माणमा प्रयोग हुने गिट्टीको परीक्षण ?

रोडा अर्थात् ग्राभेललाई गिट्टी पनि भनिन्छ । गिट्टीलाई सामान्यतः क्रसरले क्रस गरेर वा खोलाबाट सिधै निकाल्न पनि सकिन्छ । यो मुख्यतः सडकमा प्रयोग हुन्छ । यदि खानीबाट निकालिएको गिट्टीको स्पेसिफिक ‘ग्राभिटी’ र ‘डेन्सिटी’ कम आयो भने राम्रो खालको ढुंगा क्रस गरेर मिसाउन सकिन्छ ।

गिट्टी सामान्यतया बाटो बनाउन र कुनै पनि निर्माण कार्यको लागि ढलान गर्न प्रयोग हुन्छ । यद्यपि प्रयोगपूर्व ग्राभेल अथवा गिट्टीको गुणस्तरबारे भने थाहा पाउनै पर्छ । गुणस्तर पत्ता लगाउन वा जाँच्न थुप्रै विधिहरूको प्रयोग गर्न सकिन्छ ।

कसरी गर्ने परीक्षण ?

गिट्टीलाई ४ वटा जोनमा अलग गरिन्छ । ‘सिभ (जाली) एनालाइसिस’को प्रयोग गर्दै विभिन्न जालीअनुसार मानक राखी गिट्टी कुन जोनमा पर्छ भनेर हेरिन्छ । त्यसैले पूर्वाधार निर्माणका लागि सामग्री तयार पार्दा प्रयोग गर्न लागिएको गिट्टी कुन जोनमा पर्छ भनेर हेर्नुपर्छ । विभिन्न जालीहरूमा कति बाँकी रहेको छ र कति पास भएको छ र सोहीअनुसार मानकभित्र परेको छ कि छैन भनेर हेरिन्छ ।

कहिलेकाहीँ गिट्टीहरू मानकको सीमाभित्र नपर्न पनि सक्छन् । मानकको सीमाभित्र पार्नलाई सानो आकारको गिट्टी अपुग भए थप्ने र ठूला आकारको गिट्टी मात्र भए साना आकारको गिट्टी थप्नुपर्छ । त्यस्तै, साना आकारको मात्र भए ठूलो आकारको थपेर उचित मिश्रण गर्नुपर्ने हुन्छ ।

पूर्वाधार निर्माणका लागि ढलान गर्नुपरेमा २० एमएम डाउन र ४० एमएम डाउन आवश्यकताअनुसार प्रयोग गरिन्छ । ल्याबमा टेस्ट गर्दा ग्राभेलको ग्राभिटी, डेन्सिटी, ‘क्रसिङ भ्यालु’ र ‘इम्प्याक्ट भ्यालु’, ‘अब्रासन भ्यालु’ परीक्षण गरिन्छ । उक्त भ्यालु धुलोबाट पत्ता लगाइन्छ । क्रसिङ र इम्प्याक्ट भ्यालु अधिकतम ३० प्रतिशत, अब्रासन भ्यालु अधिकतम ४० प्रतिशत नेपाल गुणस्तरले तोकेअनुसार हुनुपर्छ ।

सडकमा सब ग्रेड, सब बेस र बेस गरी तीन तह हुन्छन् । सो तहहरूको माथिल्लो भागमा र बिटुमन(अलकत्रा) वा रिजिड\कंक्रिट पेभमेन्ट (ढलान) गरिन्छ । सडकमा प्रयोग गरिने ग्राभेलको ‘लस एन्जलस एबरेसन’ र इम्प्याक्ट विधिबाट परीक्षण गरिन्छ ।

ग्राभेल ‘कम्प्याक्ट’ छ कि ‘ग्याप’ छ भनेर बुझ्न पानी हालेर परीक्षण गरिन्छ । सो परीक्षणमा ग्राभेलले २ प्रतिशतभन्दा बढी पानी सोस्नु हुँदैन । बढी सोसेमा त्यो ग्राभेलको कमजोर छ भन्ने बुझ्नुपर्छ ।

ग्राभेल गर्दा पातलो र लामो किसिमका गिट्टीहरू धेरै मात्रामा प्रयोग गर्नु हुँदैन । ‘फ्लेकिनेस’ र ‘इलङ्गेसन’ इन्डेक्सबाट परीक्षण गर्दा सो मात्रा ३५ प्रतिशतभन्दा बढी हुनु हुँदैन । निर्माण कार्यमा प्रयोग हुने गिट्टी सफा हुनुपर्छ । यो परीक्षण सिभ एनालाइसिसबाट गरिन्छ । जसमा धुलोको मात्रा ०.०७५ एमएमको जालीबाट अधिकतमा ५ प्रतिशत मात्र छिर्नुपर्छ ।

‘बल्क डेन्सिटी’ (घनत्व) परीक्षण गर्दा गिट्टी ‘हाइ डेन्सिटी’को छ भने २ हजार ६ सय केजी प्रतिघनमिटरसम्म हुन सक्छ । सामान्यतः नेपालमा भएको सामग्री प्रयोग गर्दा गिट्टीको घनत्व १६ सयदेखि २२ सय केजी प्रतिघनमिटरसम्मको ‘रेन्ज’मा जान्छ ।

नेपालको सन्दर्भमा सामान्य डेन्सिटीका गिट्टी भएको खण्डमा १३ सयदेखि १८ सय र हाइ डेन्सिटीका गिट्टी भएको खण्डमा २३ सय केजी प्रतिघनमिटरसम्म जान सक्छ ।

गिट्टीको टिकाउ जाँच गर्न केमिकल परीक्षण पनि गर्न सकिन्छ । सो परीक्षणमा सोडिमि सल्फेट र म्याग्नेसियम सल्फेटको प्रयोग गर्न सकिन्छ । सोडियम सल्फेटको प्रयोग गर्ने हो भने गिट्टीको ‘साउन्डनेस’ भ्यालु अधिकतम १२ प्रतिशत र म्याग्नेसियम सल्फेत प्रयोग गर्ने हो भने अधिकतम १८ प्रतिशत हुनुपर्छ ।

यो लेख यसमा पनि प्रकाशित भएको छ ।

Comments

Post A Comment