किन गरिन्छ छड वा डण्डीको परीक्षण ?

घर, भवन वा कुनै पनि भौतिक पूर्वाधारको पिलर वा ढलान गर्दा प्रयोग गरिने डण्डीलाई प्राविधिक भाषामा ‘रिइन्फोर्समेन्ट बार’ भनिन्छ । भूकम्पका बेला भवन वा कुनैपनि भौतिक संरचना हल्लिन्छन् । भूकम्पसँगै हल्लिँदा प्रयोग भएका कंक्रिटको स्ट्रेन्थसँगै डण्डीको स्ट्रेन्थ र लचकताले सो पूर्वाधारको भूकम्प प्रतिरोधी क्षमताको निर्धारण गर्छ । लचिलोपनाको परीक्षण गर्न प्रयोगशालामा डण्डीको ‘टेन्साइल स्ट्रेन्थ’, ‘इल्ड स्ट्रेस’ र ‘इलन्गेसन’ जाँच परिन्छ ।

 

नोमिनल आकारको डण्डीहरूमा ४, ५, ६, ७, ८, १०, १२, १६, २०, २२, २५, २८, ३, ३६ र ४० एमएम पर्छन् । नेपालमा थुप्रै किसिमका डण्डीहरू उपलब्ध छन् । जस्तैः ‘एफई ४१५’, ‘एफई ४१५ डी’, ‘एफई ५००’, ‘एफई ५०० डी’ । यसमा ‘डी’ भन्नाले ‘डक्टाइल’ भन्ने बुझिन्छ ।

एफई ५०० भने नेपालमा सर्वाधिक प्रयोग हुने गरेको छ । कुन ग्रेडको डण्डी प्रयोग गर्ने भन्ने कुरा भौतिक संरचनाको डिजाइन लोडमा निर्भर गर्छ । डण्डी तन्किने खालको हुनुपर्छ । यदि तन्किएन भने सो डण्डी अधिकतम भार दिनुअघि भाँचिन्छ । कति तन्किने खालको छ भनेर हेर्न डण्डीको इलङ्गेसन परीक्षण गरिन्छ । यो गज लेन्थमा निर्भर गर्छ । इलङ्गेसनमा डण्डीको लम्बाइले असर गर्दैन । डण्डीको करिब ५ गुणामा मात्र इलङ्गेसनले असर गर्ने भएकोले गज लेन्थ लिनुपर्छ ।

एफई ५०० को इलङ्गेसन परीक्षण गर्दा न्यूनतम १२ प्रतिशत आउनुपर्छ । एफई ५०० को टेन्साइल स्ट्रेन्थ न्यूनतम ५४५ एमपीए हुनुपर्छ भने इल्ड स्टे«स न्यूनतम ५०० एमपीए हुनुपर्छ । अरू ग्रेडका डण्डीको भौतिक गुणहरू ग्रेडअनुसार फरक हुन्छन् ।

भूकम्पका बेला ‘टु एण्ड फ्रो’ मोसन हुने भएकोले प्रयोगशालामा डण्डीको भूकम्प प्रतिरोधी क्षमता जाँच्न ‘बेण्ड’ र ‘रिबेण्ड’ परीक्षण गर्नुपर्छ । यसका लागि डण्डीलाई १३५ डिग्रीमा बेण्ड गर्ने र १५७.५ डिग्रीमा रिबेन्ड गरिन्छ । यसो गर्दा डण्डीमा ‘क््रयाक’ देखिनु हुँदैन । रिबेन्ड गर्दा डण्डीको नमुनालाई आधा घण्टासम्म उम्लिएको पानीमा राखिन्छ र चिस्सिएपछि परीक्षण गरिन्छ ।

कुनै अवस्थामा डण्डीहरूलाई वेल्ड गरेर पनि जोडिन्छ । वेल्ड गरेर जोडिएका डण्डीहरू छुट्टिनु हुँदैन । डण्डीको गुणस्तर जाँच्न वेल्डेड जोइन्ट परीक्षण पनि गरिन्छ । वेल्डेड जोइन्ट परीक्षणमा वेल्ड भएको जोइन्टको टेन्साइल स्ट्रेन्थको परीक्षण हुन्छ । सो परीक्षणमा दुईवटा डण्डीलाई वेल्ड गरेर जोडिन्छ र तन्काइन्छ । तन्काउँदा उक्त डण्डी वेल्ड गरेको ठाउँबाट छुट्टिनु हुँदैन । यस परीक्षणमा मेसिनको प्रयोग गरेर डण्डीलाई तन्काएर चुँडाल्न खोजिन्छ तर वेल्ड गरेको ठाउँबाट चुँडिनु हुँदैन ।

डण्डीको रसायन परीक्षण पनि गरिन्छ । जसमा कार्बन, फस्फोरस र सल्फरको मात्रा हेरिन्छ । भूकम्प प्रतिरोधी डण्डीका लागि कार्बनको मात्रा एफई ५०० मा अधिकतम ०.३ प्रतिशत र एफई ५०० डीमा अधिकतम ०.२५ प्रतिशत हुनुपर्छ । राम्रो वेल्डिङको प्रत्याभूतिका लागि कार्बनको मात्रा अधिकतम ०.२५ प्रतिशत हुनुपर्छ र फस्फोरस र सल्फरको मात्रा पनि कम हुनुपर्छ । डण्डीको तौलको पनि परीक्षण गर्नु आवश्यक हुन्छ । व्यासको (एमएम) वर्ग इकाइलाई १ सय ६२ ले भाग गर्दा १ मिटर डण्डीको तौल (केजी) आउँछ ।

(यो लेख यसमा पनि छापिएको छ।

Comments

Post A Comment