घर तथा पूर्वाधार निर्माणपूर्व किन गर्ने सिमेन्ट परीक्षण ?

सिमेन्ट एक किसिमको नरम खैरो पदार्थ हो । जसले पानी, बालुवा, गिट्टी जस्ता निर्माणका सामग्रीलाई एउटैमा समेटेर कडा र बलियो बनाउँछ । सिमेन्टलाई पानी, बालुवा र गिट्टीसँग मिश्रण गरे कंक्रिट बन्छ भने पानी र बालुवा मिश्रण गरे मसला बन्छ ।

सिमेन्ट सामान्यतया दुई किसिमको हुन्छ । ‘अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट’ (ओपीसी) र ‘पोज्जोलानिक पोर्टल्यान्ड सिमेन्ट’ (पिपीसी) । नेपाली बजारमा ४३ र ५३ ग्रेडका ओपीसी र ३३ ग्रेडका पिपीसी सिमेन्ट उपलब्ध छन् ।

यदि ठूलो आयोजनाका लागि उच्च ग्रेडको सिमेन्ट आवश्यकता परेमा नेपाली सिमेन्ट उत्पादकहरूले पनि मागअनुसारको सिमेन्ट उत्पादन गर्ने क्षमता राख्छन् । ओपीसी र पिपीसीको सेटिङ टाइम फरक हुन्छ । ओपीसी सिमेन्ट छिटो सेट हुन्छ भने पिपीसी सिमेन्ट ढिलो । तर, प्रारम्भमा ओपीसी सिमेन्ट छिटो सेट हुने भए पनि अन्तिममा सेट भइसकेपछि ओपीसी र पिपीसीले ग्रेडअनुसार एउटै ‘स्ट्रेन्थ’ लिन्छन् ।

किन गरिन्छ सिमेन्ट परीक्षण

सिमेन्ट कुन ग्रेडको हो र कस्तो गुणस्तरको छ भनेर प्रयोगपूर्व नै जान्नु आवश्यक हुन्छ । ग्राहकको सन्तुष्टिका लागि र दिगो भौतिक पूर्वाधार निर्माण गर्ने हो भने सो निर्माणमा प्रयोग हुने सिमेन्टको पनि गुणस्तर परीक्षण गर्नैपर्छ ।

विभिन्न सिमेन्ट कम्पनीहरूले ग्राहकले आफ्नो कम्पनीको सिमेन्ट खरिदपूर्व नै नेपाल गुणस्तरले तोकेको मापदण्डअनुरूपको ग्रेड देखाउने हिसाबले परीक्षण गर्ने गरेका छन् । सिमेन्ट उत्पादन हुने वित्तिकै परीक्षण गर्दा राम्रो नतिजा आउनु आश्चर्यको कुरा होइन । तर, गोदाममा स्टोर गरिएको सिमेन्ट खरिद गरिने हुँदा ती सिमेन्ट फ्रेस नहुन पनि सक्छन् ।

कहिलेकाहीँ गोदाममा रहेको सिमेन्टमा ‘मोइस्चर कन्टेन्ट’ मिसिएको पनि हुन सक्छ । स्टार गरेर राखिएको बेला भित्ता र भुइँको चिसोले र हावाको मोइस्चर कन्टेन्टले सिमेन्टको बिगे्रको हुनसक्छ । सिमेन्टले नदेखिने हिसाबले पानी वा मोइस्चर कन्टेन्ट सोसेको हुन सक्छ ।

पानीको वा हावाको मोइस्चर कन्टेन्टको सम्पर्कले सो सिमेन्टको गुणस्तर घट्ने सक्छ । त्यस्तो किसिमको सिमेन्ट कमसल भइसकेको हुन्छ र परीक्षण गर्दा नेपाल गुणस्तरले तोकेको मापदण्डअनुरूपको ग्रेड आउँदैन ।

साथै सिमेन्ट उत्पादक कम्पनीले सिमेन्ट उत्पादन गर्दा प्राविधिक गडबडी र कम्पनीको ल्याब टेस्टमा हुने लापरवाहीको काराणले पनि सिमेन्टले मापदण्ड पूरा नगर्न सक्छ । त्यसैले खरिदपूर्व नै प्रयोग गर्न लागिएको सिमेन्ट उच्च गुणस्तरको छ/छैन भनेर थाहा पाउन परीक्षण गर्नैपर्छ ।

परीक्षण गर्ने तरिका

सामान्यतः सिमेन्ट र स्ट्यान्डर्ड बालुवालाई १ः३ को अनुपातमा ७.०६ सिएम को क्युब बनाई सिमेन्टको ‘कम्प्रेसिब स्ट्रेन्थ’ परीक्षण गरिन्छ । सिमेन्टलाई ३, ७ र २८ दिन गरी तीन पटक स्ट्रेन्थ परीक्षण गरिन्छ ।

४३ ग्रेडका ओपीसी सिमेन्टको स्टे«न्थ परीक्षण गर्दा तेस्रो दिनमा न्यूनतम २३ न्यूटन प्रतिवर्गमिलिमिटर (एमपीए) हुनुपर्छ । त्यस्तैगरी ७आँै दिनमा न्यूनतम ३२ र २८औँ दिनमा न्यूनतम ४३ देखि अधिकतम ५८ न्युटन प्रतिवर्गमिलिमिटरसम्म आउनुपर्छ । पिपीसी सिमेन्टको स्टे«न्थ ग्रेडअनुसार परीक्षण गर्दा प्रारम्भमा कम आए पनि २८औँ दिनमा ओपीसी सरहकै एमपीए आउनुपर्छ ।

सिमेन्टलाई ल्याबमा परीक्षण गरिन्छ । पुरी भन्छन्, ‘सिभ एनालाइसिस विधिबाट सिमेन्टको ‘फाइननेस भ्यालु’ परीक्षण गर्दा अधिकतम १० प्र्रतिशत हुनुपर्छ । सिमेन्टको सुरुआती सेटिङ समय कम्तीमा ३० मिनेट हुनुपर्छ ।’ अर्थात् सिमेन्ट ३० मिनेट अघिनै सेट हुनुहुँदैन । सिमेन्टको अन्तिम सेटिङ समय भने बढीमा १० घण्टा हुनुपर्छ । अर्थात् सिमेन्ट १० घण्टा अघिनै सेट भइसकेको हुनुपर्छ ।

सिमेन्टका लागि सुरुआती सेटिङ समय १ देखि २ घण्टा र अन्तिम सेटिङ समय ५ देखि ६ घण्टा राम्रो मानिन्छ । सिमेन्टको साउन्डनेस भ्यालु ‘ल–चाटेलियर्स’ प्रविधिबाट परीक्षण गर्दा अधिकतम १० एमएम र ‘अटो क्लेभ’ प्रविधिबाट परीक्षण गर्दा अधिकतम ०.८ प्रतिशत हुनुपर्छ ।

यो लेख यसमा पनि प्रकाशित भएको छ  ।

Comments

Post A Comment